skip to Main Content
यात्री लामिछानेको शानः नियात्रामा विविधता पहिचान

यात्री लामिछानेको शानः नियात्रामा विविधता पहिचान

नियात्री लामिछाने जहाँ जहाँ घुमेका छन् पाठकलाई तिनै संस्मरणका हरफसँगै डुलाएका छन् । कैले उमंगको सञ्चार गर्दै कैले मन दुःखाउँदै, कैले अथाह सौन्दर्यमा डुबुल्की मार्दै । चमत्कारको चारु चर्चा गर्दै, हृदयमा नयाँ आश्वादन भर्दै, देशप्रेमको गाथा, गाँउदै मानवताको सन्देश छर्दै ।

यात्रापिच्छे अनुभूति फरक हुन्छन् । कति स्मरणहरू अविस्मरणीय हुन्छन्, कति अनौठा त कति दुःखद् र कति रोमान्टिक पनि । नसोचेको देख्नु, सुन्नु, परिचित हुनु, कतै प्रेरणा ग्रहण गर्नु, कतै नयाँ सूचना र जानकारी संकलन गर्नु यात्राको विषेशता नै हो । कयौँ पुस्तकका ज्ञानलाई माथ गर्छन् यात्राका प्रत्यक्ष अनुभूतिहरूले । विभिन्न ठाउँहरूको भूगोल, इतिहास, सूचना, जानकारी र मनोरञ्जनको सँगालो हो— नियात्री जीवा लामिछानेको देशदेशावर ।

नियात्री ‘द हार्माेनी अफ् द सी’ चढेर सौन्दर्यको रत्न क्यारेवियन दीपमालाको यात्रा गरेका छन् । त्यहाँको प्रकृति, इतिहास, सभ्यता, परम्परा, रितिथिति अनौठो संस्कृतिसँग समेत पाठकलाई परिचित गराएका छन् । नाइल नदी होस् अथवा भिक्टोरिया ताल घनिभूत सौन्दर्यमा डुबुल्की मार्दै सामुद्रिक यात्राको अन्तिम थलो हैटी पुगेका छन् । सन् २०१० को महाभुकम्पले थङ्थिलो भएर कयौँ धनजनको विनाश भएको भूमि । अन्तर्राष्ट्रिय संघ/संस्थाहरूले निरन्तर सहयोग गर्दैआए पनि बालुवामा पानी खन्याए झैँ हैटीले परिवर्तनका पाइला भने चाल्न सकेको छैन । अमेरिकन रेडक्रसले उठाएको पाँच सय मिलियन डलर, करिब ५५ अर्बमा हैटीमा जम्मा ६ वटा मात्र घर बन्यो भन्ने प्रसंग आफैँमा आश्चर्यलाग्दो छ । बाँकी रकम खोजी सन्दर्भमा हफिङ्टन पोष्टले उठाएको सवालको जवाफचाहिँ के थियो कुन्नि, हैटी सरकारको ?

विकासको बाधक भ्रष्टाचारले चरमचुली टेकेको आभास हुन्छ । मोजाम्बिकको राजधानी मापुतोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेका नियात्रीको अध्यागमन फारम पटक पटक च्यातिन्छ । अन्ततः भ्रष्ट कर्मचारीको फन्दाबाट उम्कन १० डलर तिर्न बाध्य बन्छन् । जसबाट मोजाम्बिकको प्रशासनिक चरित्र जाँच्न बेर लाग्दैन । अफ्रिका महादेशको पुछारमा रहेको मोजाम्बिकले बन्दुककै कारण आफ्नो देश स्वतन्त्र भएको भन्दैे राष्ट्रिय झण्डामा समेत ‘एके फोर्टी सेभेन राइफल’ राखेको छ । पोर्चुगलको अधीनमा रहेको मोजाम्बिकलाई स्वतन्त्र गराउन मोजाम्बिकका प्रथम राष्ट्रपति सामोरा मिसेलको भूमिका महत्त्वपूर्ण रहेको छ ।

संघर्ष र दुःखका बीचबाट प्रष्फुटित दिव्य मुस्कान नै वास्तवमा खुसी हो । कङ्कालकै जगमा उभिएर पुराना घाउहरूलाई क्रमशः भुल्दै अग्रगामी पथमा पाइला सार्दै गरेका रुवान्डाली जनताको पौरख देखेर गौरव गर्छन् नियात्री । जुन परिवर्तन प्रेरणाको संवाहक बनोस् अन्य राष्ट्रका लागि पनि । यात्रा संस्मरणमा युगान्डाका क्रूर शासक दादा इदी अमिनले मान्छेको मासुसमेत खाने गरेको प्रसंगले मनै झस्काउँछ, आङै सिरिङ्ग हुन्छ । परिश्रमी हात देखेर त देवता पनि झुक्नुपर्ने हो । समभावले प्रेम गर्नुपर्ने हो सबै मान्छेलाई । अमिनले सपनामा अल्लाहले एसियाली मूलका मानिसलाई युगान्डामा बस्न नदिनु भन्ने आदेश दिएको भन्दै एसियाली मूलका हजारौँ व्यापारीलाई सन् १९७२ मा खालि हात देश निकाला गरेका थिए । सनकी शासकको चाला देखेर विश्व नै चकित परेको थियो । नियात्रीले युगान्डाको राजधानीमा रहेको राष्ट्रिय सङ्ग्रहालय घुम्दै गर्दा कयौँ नरसंहारका साक्षी बनेका अमिनका गाडीहरूको अवलोकन गरेका छन् । जुन प्रदर्शनीमा नराखी सङ्ग्रहालयभित्रकै एक ग्यारेजमा थन्क्याइएका थिए ।

के थाहा स्वतन्त्र विचरण गर्ने पन्छी र जंगली जनावरलाई नदीको पानी र पवनको बयलीलाई सिमानाको भेद ? हेरेर लोभिन्छन् वारि देशमा उभिएर पारि देशको सिमाना टेक्न नपाउँदा । आँखाले भ्याएसम्म दृश्य हेरेर चित्त बुझाउँछन् । शासनका नाममा भूगोल विभाजन गरेर आफैँले कोरेको घेराभित्र आफैँ थुनिएको छ मान्छे । बिखण्डन आफैँमा दुःखद् हुन्छ । साइप्रसको निकोसिया सहरमात्र होइन मध्यभागबाट सीमा विभाजन भएको फ्रेञ्च र डच जातिको आधिपत्य रहेको सेन्ट मार्टिन टापुको अवस्था पनि उस्तै छ । विश्वभरि नै सिमाना भूमिका सन्दर्भमा हुने युद्ध, मारकाट देख्दा सर्वोच्च प्राणी मानवको बौद्धिकताप्रति नै संशयभाव प्रकट गर्न पुग्छन् नियात्री । साइप्रसमा उत्पादन हुने संसारकै पुरानो कमान्डेरिया ब्राण्डको वाइनको खोजीमा निकै समय खर्चेका नियात्रीको लज्जालु प्रकृतिको राष्ट्रिय जनावर भेडा हेर्ने धोको भने अपूरै रह्यो । यात्राका क्रममा ट्रोडोस माउन्टेन निशाना बनाएर हिँडेका नियात्री ओलम्पिक माउन्टेन पो पुग्छन् । नेपाल भित्रने पर्यटकहरू पनि यस्ता समस्याबाट अछूतो छैनन् । प्रेमकी देवी आफ्रोडइटीको किम्वदन्ती होस् अथवा पाफोस सहरको एउटा अनौठो रूखको कहानी नै किन नहोस्, अझै तान्जनियाको जङ्गलमा पाइने एपिङ्गो नामक कालो काठको बयानले त पाठकलाई अनौठो अनुभूति गराउँछ ।

प्रजातान्त्रिक देश आइसल्याण्डसँग जल, वायु र स्थल सेना छैन र कारागार पनि छैन । यद्यपि शान्तिको अनुपम नमूना सानो देश आइसल्याण्ड प्रकृतिका अनौठा दृश्य शिल्पले घनिभूत छ । जमिनमुनिबाट अनवरत निस्कने तातोपानीको फोहोरा होस् अथवा मनै लोभ्याउने गरी छङ्छङाएका अनगिन्ती झरना हुन् तमाम दृश्य सुन्दर छन् । हिउँ र आगोको भूमि भनेर चिनिने आइसल्याण्डको थिङभेलिर राष्ट्रिय निकुञ्जमा पुग्दा भने नियात्रीेले जङ्गलविहीन नाङ्गा डाँडा र उजाड ठाउँसिवाय केही देखेनन् । न त जीवजन्तुको ओहोरदोहोर देखे न पन्छीको गुञ्जन सुने, बस् नाम मात्रको निकुञ्ज पर्यटकलाई लोभ्याउने । धेरै वर्षअघि उत्पन्न भएको ज्वालामुखी क्षेत्रमा अझै पनि ताता लाभा भेटिएको सत्य आफैँमा भने अनौठा छन् ।

हत्या, हिंसा, आतङ्क, भ्रष्टचार बढ्दै गइरहेको वर्तमान विश्वमा फिनल्याण्डको लोकतन्त्र र सुशासनको गाथा पढिरहँदा भने अनुपम दृष्टान्त झैँ लाग्छ । शक्तिशाली राष्ट्र रुसको समीपमै रहेर पनि कुनै दबाब प्रभावमा नरहनु नेपाली पाठकका निम्ति आश्चर्यकै कुरा हो । उत्तर र दक्षिणको सिरेठोले बारम्बार सेकिने गरेको दुःखान्त नियति नेपाल र नेपाली सधैँ झेल्नु परेको छ । हेर्ने उही आँखा तथापि दृश्य अनेक देश देशावरको यात्रामा नियात्री कतै युद्धका घाउ, पीडा कतै रमाइला रोमाञ्च दृश्य त कतै आश्चर्य अनि कतै क्रूर शासन व्यवस्थाले थङ्थिलिएका, कहालिएका जनताको आवाज सुन्छन् । कतै सुशासन, स्वतन्त्रता र भ्रातृत्वमा रमेका जनताको उत्साह र खुसी देख्छन् भने कतै रगत र आँसुले भिजेको माटोका जगमा टेकेर संघर्ष र पसिना पोख्दै परिवर्तनका नवबिहान डाकिरहेका देशवासीको पौरख देखेर गर्व गर्छन् । विविध परिस्थिति नियाल्दै गर्दा अन्ततः आफ्नै नेपाली देश र परिवेशलाई स्मरण गर्न पुग्छन् । आफू जहाँ घुमफिर गरे पनि राष्ट्रको उन्नति र प्रगतिको कामना गर्ने नियात्री विखण्डन, हत्या, हिंसा कहीँकतै पनि देख्नु सुन्नु नपरोस् भन्ने भावना मुखरित गर्छन् ।

मानवताका पाठ नै विश्व शान्ति र अमनचयनका शूत्रधार हुन् । नियात्री पशुप्राणीहरूको दुर्दान्तमा समेत करुण र भावुक बनेका छन् । श्रीलङ्काले खेपेको २ दशकभन्दा लामो युद्धमा मान्छेले सहनु परेको राप ताप त छँदैछ जंगली प्राणीहरूले समेत भोग्नु परेको दुर्दान्त हात्ती अनाथालयमा ध्वनित भएको देख्छन् । कयौँ दूधे छावाले आमा गुमाए । कति अंगभंग भए, तीनखुट्टाले हिँडेको भीमकाय हात्तीको दुर्दान्त दृश्य नियात्रीका मानसपटलबाट हट्न सकेनन् । मानवताको भावना यात्रा वर्णनमा प्रस्फुटन गर्छन् नियात्री । देश देशावरको यात्रा गरिरहँदा उनको अन्तस्करणमा भने राष्ट्रप्रेम छल्किएको छ ।

मानव बन्न मानवकै हृदय चाहिन्छ । मानवको जस्तै दृष्टि चाहिन्छ । सम्पूर्ण सृष्टिलाई समभावले हेर्ने उदार हृदय चाहिन्छ । स्वयम्मानवको मूल्य बुझेर अर्को मान्छेलाई मूल्याङ्कन गर्ने क्षमता चाहिन्छ । मान्छेले आफूजस्तै अर्को मान्छेलाई बेच्ने आधार के ? जातिभेद, रंगभेद, वर्गभेदजस्ता सामाजिक विषमताले सृजना गरेको दासता कति समय बिझाइरह्यो विश्व समाजमा विषालु काँडा बनेर ? कहिले पोर्चुगल कहिले ओमानको अधीनमा रहेको तान्जनियाको इतिहासमा दासदासीहरूको कहालीलाग्दो कथा छ । त्यसो त नेपालमा पनि नभएको होइन । चन्द्रशमशेरको शासनव्यवस्था अघि नलेखिएका कयौँ दासदासीका कारुणीक कथा इतिहासका गर्तमा बिलाए । जर्मन शासकहरूले तान्जनियालगायत अन्य अफ्रिकी मुलुकहरूबाट दासदासी ल्याएर छिमेकी मुलुकमा बिक्री वितरण गर्ने गरेको प्रसंगले मन बिझाउँछ । अमानविय व्यवहारको पराकाष्ठ । तान्जनियाका गाँउगाँउबाट युरोप, अमेरिकामा बिक्री वितरणका लागि भोकभोकै कयौँ दिन हिँडाएर ल्याएको, अनेक यातना दिएको, कतिको बाटैमा मृत्यु भएको दासदासीहरूको विदीर्ण अवस्था पर्गेलिरहँदा माधव घिमिरेको मालती–मङ्गले नाटकका यी हरफहरू स्मरणयोग्य लाग्छन्ः

सिन्दुरको टीको शिरमा दली बलिको पशु झैँ
जुन देश पसूँ बाँधिन्छु त्यहीँ कुन देश पसूँ मै ।

नियात्री टोरन्टो विमानस्थलमा झरेर क्यानडाका विभिन्न महत्वपूर्ण ठाउँको यात्रा गर्छन् । उमङ्गका लहरमा प्रकृतिदेवीले विनिविनी कुँदेका अनेक आकृति झैँ सुहाना बान्की नदी, ताल, झर्ना, समुद्र अपूर्व सौन्दर्यले परिपूर्ण छ क्यानडाको भूगोल । सागरको तट झैँ फैलिएको ओन्टारियो तालको सौन्दर्यमा हराएका छन् नियात्री । वन्डरल्याण्डस्थित थिमपार्कको अवर्णनीय साजसज्जा होस् अथवा क्यानेडियन सहरको सौन्दर्य नियाल्ने भ्यूटावर नै किन नहुन्, अझ नायगराफल्सको बयानले त कुन पाठकको मन नखिच्ला ? प्रकतिको बेजोड, विचित्र छटा र परिष्कृतिको उपल्लो चुली । क्यानडा र अमेरिकाको सिमानामा बग्ने लरेन्स नदी र नदीका बीचबीचमा उभिएका आइसल्यान्ड सौन्दर्यका अनुपम नमूना बनेर सुहाएका छन् । प्रत्येक संंरचना आफैँमा अनुपम । सुन्दर प्रकृतिको अपूर्व छायाछटामा समृद्धिले रङरोगन भरेपछि सुनमा सुगन्ध सुहाउने नै भयो । सबैलाई मोहनी लगाउने नै भयो । शान्ति, सौन्दर्य र समृद्धिले शिखर चुमेको दृश्य देखेर देवता पनि किन नमुस्कुराऊन् ! कालीगढले पनि यिनै कल्पना गरे हुन् सायद हाँसिरहेको विश्वनाथको मन्दिर देखेर सम्भवतः पाठकहरू पनि त्यही कल्पना गर्दा हुन् ।

मन फुरुङ्ग हुन्छ यात्रा संस्मरणका हरफहरूमा डुलिरहँदा । विविधताले परिपूर्ण सौन्दर्यका सम्पदा झैँ लाग्छन् क्यानेडियन भूगोल । हार्ट आइसल्यान्डमा अवस्थित कलात्मक भव्य भवन बोल्डर क्यासलको ऐतिहासिक कथ्य सुनिरहँदा भने रोमाञ्चित एकाएक दुःखान्तमा परिणत हुन्छ । आलिसान मल लुइसलाई उपहार दिने बोल्डरको सपना सपना नै रहिरह्यो । भवनको वियोगान्त गाथाले भने पाठकमा ताजमहलको स्मरण गराउँछ ।

थाउजेन्ट आइसल्याण्डको माधुर्यपान गर्दै अनेक दृश्यलाई हृदयभरि साँच्दै नियात्री ओटावाको संसद भवन पानीको फोहोरासँगै बलिरहेको शान्तिदीप हेर्छन् । अस्ताउँदो सूर्यसँगै गोधूली साँझको मधुमनोरम दृश्य अनुभूत गर्दै दिनभरिको यात्रालाई पूर्णविराम लगाउँछन् ।

सायदै ती देशहरू भेटिँदैनन् होला जसले चीनमा उत्पादित सामानहरू उपभोग नगरेका होऊन् । सिमाना कटेर अन्तर्राष्ट्रिय बजार अमेरिकादेखि अफ्रिकासम्म ढाकेका छन् चीनका उत्पादन । चीनको तीव्र विकास आजजस्तो देखिदैनन् भोलि आँखा तिलमिलाउने तमकझमक सहरका दृश्यहरू सधै नयाँ सधैँ नौला । नियात्रीले सन् १९८९ मा संसारलाई रुवाउने घटनाको साक्षी तिआननमेन चोकको अवलोकन गरेका छन् । जहाँ स्वतन्त्रताको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका हजारौँ विद्यार्थीमाथि चिनियाँ सेनाले बुल्डोजर चलाएर हत्या गरेको थियो । चीनको ऐतिहासिक महत्त्वको ठाउँ माओ मेमोरियलभित्र पुगेर निदाए झैँ मात्र देखिने माओको शव निरीक्षण गर्दैगर्दा मस्कोमा राखिएको लेनीनको शवसँग माओको शवलाई तुलना गरेका छन् । बेइजिङ सहरको प्यालेस म्यूजियमलगायत जिन्सेन पार्क, बेहाई पार्क, लोटस पार्कको रौनक र भव्यता अनुभूत गर्दै विश्वको सातौँ आश्चर्य ग्रेटवालको भ्रमण गरेका छन् ।

सेन्जेन होस् अथवा सांघाई व्यापारिक क्षेत्रका रुपमा विश्वकै अद्धितीय नमूना बनेको सुन्दर दृश्य मानसपटलमा भर्दै नियात्री चीनको यात्रामा रमेका छन् । त्यस्तो कुनै एउटा मात्र कारण छैन समुन्नत र समृद्ध चीनको निर्माणमा । सफलताको शिखर चुम्न कल्पकल्पमा संकल्प हुनुपर्छ । परिश्रमी र अनुशासित जनता, अत्याधुनिक प्रविधिको प्रयोग, पर्यटन प्रवद्र्धनसँगै देङं सियाओ पिङको आर्थिक उदारीकरणको नीतिले पनि चीनको विकासमा पर्याप्त भूमिका खेलेको छ ।

लियो टोल्स्टोय विश्व साहित्य इतिहासमा जीवन्त नाम हो । रुसको यास्नाया पोल्यानामा जन्मेका लियोले ‘वार एण्ड पिस’, ‘अन्ना करेनिना’ ‘डेथ अफ इभान इलिच’ जस्ता प्रसिद्ध पुस्तक लेखे । उनका सन्दर्भमा अनेक रोचक र गम्भीर प्रसंगले यात्रा संस्मरण कौतुहलमय बनाएको छ । ५० जना दासदासी सेवामा खटिएका, सयाैँ गाउँ उनकै समझमा रहेको उच्चकुलीन परिवारमा जन्मेका लियोका कृतिमा भने निम्नवर्गदेखि उच्चवर्गसम्मका पात्रहरूको चित्रण छ । उनले खोलेको विषेश विद्यालय प्रतिभाकै खोजीको लागि थियो । त्यहाँ न त औपचारिक पाठ्यक्रम नै थियो न त विद्यार्थी फेल/पास नै हुन्थे । हुन त सीमित पाठ्यक्रमभन्दा फराकिलो ज्ञान र सिकाइ नै महत्वपूर्ण कुरा हो । विद्यार्थीले पढून् भनेर याश्नाया पोल्याना नामक पत्रिकामा उनका कृति छापिन्थे । विवाहपूर्व वेश्यालय पुगेका, जुवा खेलेका, जीवनका आखिरी क्षणहरूमा सांंसारिक मायामोहप्रति वैराग्य उत्पन्न भएको, ८२ वर्षको उमेरमा एक दिन रातको समयमा घर छाडेका, आफूलाई १२ नम्बरको रेलको यात्री भनेका, घर छाडेको ११ दिनमा एउटा रेल स्टेसनमा दुःखद् निधन भएको कुरा पटक पटक यास्नाया पोल्याना पुगेका नियात्रीले संंस्मरणमा उल्लेख गरेका छन् ।

दागेस्तानको यात्रामा नियात्रीले हिमाल, पहाड, खोला, नाला, वनजङ्गल हेर्दै गर्दा नेपाली भूमिमै उभिएको अनुभूति गर्छन् । भौगोलिक अवस्थिति, जातीय सांस्कृतिक विविधता मिल्दोजुल्दो देख्छन् । लडाकु छवि भएका त्यहाँका जनतासँग वीर गोर्खालीहरूको गौरवगाथा तुलना गर्छन् । दागेस्तानी नागरिकहरूले कवि कलाकारप्रति देखाएको श्रद्धा समर्पणको भाव देखेर छक्क पर्छन् । तर आफ्नो देशमा त्यसो छैन । नियात्री असन्तुष्टिको भाव प्रकट गर्छन् । आफ्नो देशमा राजनीतिक, जातीय अनेक झमेलामा कवि कलाकार अपमानित हुने गरेको शालिक तोडफोड हुने गरेको तीतो यथार्थ सम्झन्छन् । दागेस्तानीहरूले विपुल दिलले कवि रसुल गोम्जातोकप्रति प्रकट गरेको सम्मानभाव अनुकरणीय छ । प्रकृतिको वरदान हो अनमोल हिरा नेपाली भूमि । यहाँ पाइला टेक्ने कुनै सृजनशील प्रतिभा रित्तो हृदय लिएर सायदै फर्कन्छ । नेपाल भ्रमणपश्चात् दागेस्तानी कवि रसुलले नेपाली प्रकृति संस्कृतिको महिमागान गर्दै २ पुस्तक लेखेको नियात्रीले उल्लेख गरेका छन् । जुन नेपालीका लागि गर्वको कुरा हो ।

असम्भव भन्ने कुरा केही पनि नहुँदोरहेछ । तिनै भाषाभाव संचार गरिरहेछ अमेरिकाको लसभेगास सहरको चारुचेहराले । सायदै लसभेगासमा हुन बाँकी विकास केही नहोला । अनेक चाहाना तृप्तिपछिको अनुहार सुफी कवि रुमीका हरफहरू साभार गर्दै चमत्कारिताको उत्कर्ष रुप यात्रावर्णनमा नियात्रीले उल्लेख गरेका छन् । मनोरञ्जनको अन्तर्राष्ट्रिय राजधानीका रुपमा ख्याती कमाएको नेभादा मरुभूमिमा अवस्थित भेगास सहर विगतको आणविक परीक्षणको थलो हो । वर्षेनी ४ करोडभन्दा बढी पर्यटकले हेर्ने भेगास सहरको यात्रामा नियात्रीले कोलोराडो नदीमा बनाइएको विशाल हुभर बाँधको निरीक्षण गरेका छन् ।

जर्मन यात्रामा नियात्रीले सर्वप्रथम पूर्व जर्मनको वाइमर सहरस्थित बुखेनभाल्ड बन्दी गृह (वर्तमानको म्युजियम) को अवलोकन गरेका छन् । हिट्लर निर्मित यातनागृह चाहारिरहँदा कयौँ मान्छेको दारुण स्वर, भय र चित्कारका प्रतिध्वनि गुञ्जयमान भइरहे झैँ लाग्ने भित्ताहरू दृष्टिगत गर्दै शून्यतामा हराइरहेको अनुभूति गर्छन् । धर्तीकै कोटी कोटी सौरव र सौन्दर्य विलय भएको भूमि मुस्कुराओस् पनि कसरी ? हिट्लरको बर्बर यातनामा कतिलाई करेन्ट लगाएर मारियो, कति अंगभंग पारियो, कतिले यातना सहन नसकेर आत्महत्या गरे । कति डोज डेथ मेडिसिन प्रयोग गर्दा निर्दोष बन्दीहरूलाई मार्न सकिन्छ भन्दै मान्छे मार्ने अनेक तौरतरिकाको इन्तजाम गरेको मानवरुप हिट्लरप्रति कयौँ प्रश्न उब्जन्छन् ।

६० लाख निर्दोष मान्छेको न्यानो घाम र बादलविहीन आकाश हेर्ने धोको पूरा हुन सकेन । नियात्रीका साथमै यात्रा गरेका उनका छोरा ६ वर्षसम्म मान्छेले दुःख पाएको, मारिएको ठाउँमा फोटो खिच्दा अन्यत्रजस्तो होइन यहाँ हाँस्नु हुँदैन भन्ने प्रसंग आफैँमा मर्मस्पर्शी छ । एकातिर सखाप पारेर ज्वाला लिँदै अर्कोतिर विध्वंंस गर्नु डढेलोको रीतै हो । डढेलो हो युद्ध विनाश देखेर नडराउने । ६० लाख मान्छे निलेको दोस्रो विश्वयुद्धको विध्वंसपछि पनि पूर्णविराम लागेन, जाति भेदकै विरुद्ध यहुदीहरूले निहत्था प्यालेस्टाइनमाथि चर्काएको हत्या, हिंंसा यानि कि युद्धको विभीषिकामा होमिएको देश र आहत बनेका प्यालेस्टाइन कवि मोहमुद दार्विस लेख्छन्ः

मेरो घाँटीमा आँसु छ, हिक्काहरू छन् ।
र आगो छ मेरो आँखामा
मेरो देश सुटकेश होइन ।

मिस्टर गोर्बाचोभ ! ‘टियर डाउन दिस वाल’ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको भाषणका यी अंशहरू काफी छन् बर्लिनको पर्खाल भत्कनुमा र महत्वपूर्ण छ गोर्बाचोभको सदासयता पनि । सन् १९६२ मा निर्माण भएको यानि कि २८ वर्षे विभाजनको इतिहास बोकेर उभिएको बर्लिनको पर्खाल ढलेसँगै पूर्व जर्मन र पश्चिम जर्मन एकीकृत भयो । यद्यपि पूर्व जर्मनले उल्लेख्य विकास भने गर्न सकेन । आजसम्म पनि पूर्व र पश्चिम जर्मनहरूमा भावनात्मक रुपमा सुमधुर सम्बन्ध कायम हुन नसकेको यथार्थ वर्णनले भने पाठकमा नमीठो आभाष सञ्चार गर्छ ।

हेरीबेर्ट जर्मन नागरिक हुन् । यद्यपि हृदयमा अटाएको उनको नेपालप्रेम कर्मैभरि पोखिएको छ । भिसेन्ट गाउँको एउटा जङ्गलभित्र नियात्रीले सानो सुन्दर नेपालको प्रतिछाया देखे । नेपाली प्रकृति, कला, संस्कृतिको बेजोड प्रर्दशन देखे । नेपाली कलाकारको उपस्थिति देखे । जर्मनीको फ्रयांकफर्टबाट ३५० किमीमा छ भिसेन्ट गाउँ । सौन्दर्यको अनुपम नमूना वागबगान, पशुपन्छी, मन्दिर, पाटीपौवा हेरेर एक एक दृश्य आश्चर्य मान्छन् नियात्री । नेपाली भूमिमै उभिएको आभाष गर्छन् । विदेशी नागरिकले नेपालप्रति त्यति धेरै माया प्रकट गरिरहँदा कुन नेपाली पाठकको मन खुसी हुँदैन र ? हेरिबेर्टले कतिपटक नेपाल भ्रमण गरे होलान् ? नेपाली कला र संस्कृतिको यसरी गहन अध्ययन विश्लेषण गर्न कति समय खर्चे होलान् ? कति धेरै माया उनको नेपालप्रति ? उनैद्वारा निर्मित सानो नेपालको बयान पढिरहँदा यस्तो लाग्छ, प्रसंसा गर्ने पर्याप्त शब्द नै छैनन् शब्दकोषमा । हेरीबेर्टको प्रेम र उदारताको प्रतीक सानो नेपाल पर्यटकहरूको आँखाको नानी बनोस् । सबै सबैले हेरुन्, देखून्, घुमून्, चिनून्, नेपालको कृति फैलियोस् । नेपाल सरकारले हेरीबेर्टको नेपाल प्रेमलाई सगर्व सम्मान गरोस् ।

अन्ततः नियात्रा देशदेशावरले कहिले मन फुरुङ्ग पार्छ, कौतुहलता सृजना गर्दै अनेक घुम्ती र मोडसँगै पाठकलाई हिडाउँछ । हरेक नयाँ ठाउँमा पुगेसँगै नियात्री जिज्ञासु स्वभावले त्यहाँको भूगोल, इतिहास, घटना परिदृश्य सत्य, कथ्य, किम्वदन्तीलगायत विभिन्न जानाकारीहरू अनेक स्रोतमार्फत् उत्खनन् गरेका छन् । कतै आश्चर्य कतै मनोरञ्जन कतै युद्धको घाउ–पीडा कतै खुसी । सरस शैलीमा उनिएका नयाँ ज्ञान, प्रेरणा र विविध सूचनाको विशिष्ट समायोजन हो नियात्रा देशदेशावर ।

This Post Has 0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top