skip to Main Content
पुस्तक समीक्षा : विकास चियाउने आँखीझ्याल

पुस्तक समीक्षा : विकास चियाउने आँखीझ्याल

जीवा लामिछानेको नयाँ कृति ‘देश देशावर’ पढ्न थाल्दा सोचेको थिइनँ– पुस्तकबारे केही लेख्छु । पुस्तक पढ्न सुरु गरेपछि भने मैले यसका अंश–अंश चपाउन थालेँ । र, चपाएका अंशलाई निल्न । किनकि यी निकै मीठा छन् ! लेखकले पुस्तकलाई ‘नियात्रासंग्रह’ भनेका छन् । उनको मर्जि । आफूले फलाएको फसललाई जेसुकै नाम दिऊन् † तर, मेरा लागि यो पुस्तक जातीय राजनीतिविरूद्धको महत्वपूर्ण दर्शन हो । अनि विश्वका धेरै देशको विकास चियाउने आँखीझ्याल । त्योभन्दा बढी नेपालको विकासमा दौडिन प्रोत्साहित गर्ने ‘मेन्टर’ । किनभने, जातीय राजनीति प्रायश्चित गर्न नसकिने गल्ती हो । कुनै पनि देशको विकास निदाउँदा देखिने सपनाबाट सम्भव छैन । र, द्वन्द्वग्रस्त वा तानाशाही मुलुकले आफ्ना गल्ती बिर्सिएर जुन सोचका साथ विकासलाई अघि बढाए, त्यो शिक्षा नेपालका लागि निकै उपयोगी छ । ‘देश देशावर’ले हामीलाई यही शिक्षा दिन्छ ।

जीवा मनभरि भयको पोको बोकेर रुवान्डा उत्रिन्छन्् जहाँ जातीय हिंसाको क्रुर तस्बिर उनको दिमागमा नाचिरहेको हुन्छ । जातीय हिंसाको चपेटामा परी सय दिनमा १० लाख मानिसले जीवन गुमाएको देश यही हो । त्यो विद्रुप इतिहास बोकेको रुवान्डामा उनका आँखाले यसका अवशेष नियालिरहे । तर, अहँ कतै भेटाएनन् । त्यो देशको अनुभव संगालेपछि जीवा लेख्छन्, ‘रुवान्डा सबैभन्दा लगानीमैत्री वातावरण भएको देशमध्येको एक मानिँदोरहेछ । रुवान्डामा लगानी गर्न चाहने कुनै पनि विदेशी नागरिकले ४८ घन्टाभित्रै सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी व्यवसाय सुरु गर्न सक्छन् । जबकि विदेशी लगानीका लागि स्वर्ग मानिने धेरै देशमा समेत प्रक्रिया पूरा गर्न कम्तीमा एक साता लाग्ने गरेको म आफैँले देखे भोगेको छु ।’

लेखक विश्वका जुनसुकै कुनाकन्दरा पुग्छन्, त्यहाँको विकास, असल शासन र राजनीति देख्दा उनलाई लाग्छ, नेपालमा पनि यति त भइदिएको भए ! रुवान्डाको राजनीतिक सोचमा आएको सुधार नियालेपछि उनको मन भरिन्छ–‘दशक लामो द्वन्द्वपछि हामीले पनि अदभुत विकासको सपना देखेका थियौँ । तर, सपना देखेर मात्र विकास नहुँदोरहेछ । दूरदर्शी विकास र दृढइच्छाशक्ति भएका राजनेता नपाएसम्म, सपना देखाउने र त्यही बाटोमा हिँडाउने नेतृत्व नभएसम्म विकास हुँदोरहेनछ । रक्तरञ्जित इतिहासको दारुण दशालाई बिर्सेर विकासमा तीव्र गतिमा होमिएको रुवान्डाबाट हामीले के सिक्ने ?’

जातीय हिंसाबाट रुवान्डा लज्जित बन्यो । त्यहाँका मानिस अहिले हिंसाको इतिहास उधिन्ने प्रयासमा छैनन्, बरु पहिलो विश्वसँग लय मिलाएर त्यो गल्तीको अवशेष मेट्ने कोसिसमा छन् । तर, हामीकहाँ दशक लामो द्वन्द्वबाट बाहिर निस्किएको डेढ दशकपछि पनि त्यही द्वन्द्वका बाछिटाको सहारामा एउटा वर्गसत्ता लम्ब्याउने प्रयासमा छ । अर्को वर्ग सत्ता हात पार्ने तर्खरमा छ । त्योभन्दा तल्लो एउटा वर्ग द्वन्द्वका हत्याहिंसाका विद्रुप तस्बिर बेचेर गुजारा चलाउने यात्रामा छ । 

नेपालका नेताहरूले विश्वका चरम विकसित र चरम अविकसित मुलुकको नाम लिनुपर्दा प्रायः दुई देशको नाम लिन्छन्– सिंगापुर र इथियोपिया । नेपाललाई सिंगापुर बनाउने नेताका भाषण प्रत्येकजसो नेपालीलाई कण्ठै छ । तर, हाम्रा नेताले अविकसित देशको विम्बका रूपमा प्रस्तुत गर्ने इथियोपियाको कथा भने नेताहरूको दिमागमा सम्भवतः अझै अपडेट भएको छैन । लामो द्वन्द्वबाट गुज्रिएको त्यो देश अहिले तीव्र गतिमा विकास गर्ने मुलुकमा परिणत भइसकेको छ ।

मोजाम्बिक यात्रामा निस्किन इथियोपियन एयरलाइन्स चढेपछि लेखकले इथियोपियाको विकासलाई सम्झिएका छन् । ‘विमानभित्र पसेपछि मैले इथियोपियन एयरलाइन्सको चमक राम्रैसँग महसुस गरेँ । इथियोपियाले हासिल गरेको तीव्र आर्थिक उन्नतिको एउटा प्रमाण थियो, यो विमान सेवा । राजधानी अदिस अबबालाई केन्द्र बनाएर युरोप, अमेरिका र एसियासम्म आफ्नो सेवा विस्तार गरेको एयरलाइन्सले सन् २०१८ को ‘बेस्ट अफ्रिकी एयरलाइन्स’को उपाधि पाएको रहेछ । मेरोछेउमा बसेका एक इथियोपियन यात्रुसँग मैले उनको देशबारे केही जिज्ञासा राखेँ । उनले गौरवका साथ आफ्नो राष्ट्रले गरेको प्रगतिको बखान गर्दै चीनबाट ओइरिएको लगानी र गतिलो शासकका कारण देशले फड्को मार्न थालेको बताए । बिहान ६ बजे अदिसअबाबा विमानस्थलमा अवतरण गरेलगत्तै मैले छनक पाइहालेँ, अदिसअबाबा अन्य महादेशलाई अफ्रिकी महादेशसँग जोड्ने केन्द्र बन्दै छ ।’

हामीले कसरी विश्वास गरौँ– इथियोपियाजस्तो देशले समेत असल शासन र असल नेता पाउँदा नेपालले पाउन सकेन भनेर ! के हामीले अझै पनि हाम्रा नेताको भाषणमा इथियोपियाको नाम सुन्नुपर्नेछ ? वा उनीहरूले आफ्नो भाषणको एक लाइन काट्नु परेकोमा लज्जित महसुस पो गर्ने होलान् कि ! 

जीवा गैरआवासीय नेपाली संघको कार्यक्रमका लागि इदी अमिनको देश पुग्छन्– युगान्डा । जसले सन् १९७१ देखि १९७९ सम्म त्यो देशमा क्रुर शासन चलाएका थिए । विश्वमा अहिले पनि क्रुरताको प्रतीकका रूपमा यी शासकको नाम लिइन्छ । इदी अमिनले आफ्नो सत्ता टिकाउन राष्ट्रवादको नारा घन्काएका थिए । यही नाराको उन्मादमा आफ्ना झन्डै पाँच लाख विरोधीलाई मार्न लगाएका थिए । राष्ट्रवादको राजनीति गर्नेहरूले के इदी अमिनलाई आफ्नो गुरु मान्छन् ? आशा गरौँ– कम्तीमा नेपाली ‘राष्ट्रवादी’ नेताका गुरु उनी होइनन् ! 

सनकी शासक इदी अमिनले सन् १९७२ को एक दिन एसियाली मूलका मानिसलाई युगान्डामा बस्न नदिइने फरमान जारी गरे । सपनामा अल्लाहले एसियाली मूलका मानिसलाई युगान्डामा बस्न नदिनू भन्ने आदेश दिए भन्दै उनले ९० दिनभित्र एसियाली मूलका हजारौँ व्यापारीलाई खाली हात देश निकाला गरेका थिए । यस्तो सनकी घोषणालगत्तै एसियाली मूलका ८० हजार मानिसले युगान्डा छाडेको समाचारले विश्वलाई आश्चर्यमा पारेको थियो ।

तर, आजको अवस्था फरक छ । त्यो क्रुर इतिहासलाई इदी अमिनकै समयमा छाडेर नयाँ सरकारहरूले त्यो गल्तीका लागि प्रायश्चित गरिरहेका छन् । र, विगतका गल्ती सच्याउँदै देश निकाला गरिएका सबै नागरिकलाई देशमा स्वागत गरिसकेका छन् । देशमा धेरैभन्दा धेरै लगानी भित्र्याउन, आर्थिक समृद्धि हासिल गर्न र रोजगारी वृद्धि गरी आफ्ना नागरिकको आर्थिक–सामाजिक जीवन सुधार्न उनीहरू निकै गम्भीर छन् । 

जीवा एनआरएन बैठकको अन्तिम सत्रमा युगान्डाका पर्यटन राज्यमन्त्री किवान्डा गोडफ्रे ससुबीले भनेको स्मरण गर्छन्, ‘युगान्डामा लगानी गर्नुस्, हाम्रा मानिसलाई रोजगारी दिनुस् । क्षमताले भ्याएसम्म कमाउनुस् । राज्यलाई कर तिर्नुस् र भएको फाइदा तपाईं आफूखुसी जहाँ चाहनुहुन्छ, त्यहाँ लैजानुस् । सायद उनी इदी अमिनको समयबाट युगान्डा धेरै अघि बढिसकेको कुरा बुझाउन खोजिरहेका थिए ।’ उनले लगानीका निम्ति विश्वास दर्साइरहँदा जीवाको मनमा भने नेपालमा वैदेशिक लगानी गर्न चाहनेले पाइलैपिच्छे झेल्नुपर्ने झन्झटको दृश्य घुमिरहेको थियो ।

त्यो दृश्य सायद उनको आफ्नै नियति पनि हुन सक्छ– एनआरएनको कुनै परियोजना अगाडि बढाउन बिहान १० बजे नै लगानी बोर्ड पुगेको । बोर्डका हाकिम १२ बजेतिर कार्यालय आइपुगेको । एक बजेतिर फाइल हेर्दै उद्योग विभागबाट मिलाएर ल्याउनू भनेको । उद्योग विभाग पुग्दा हाकिम मन्त्रालय गएको । तीन बजेतिर आएका हाकिमले राष्ट्र बैंकबाट ऐजन–ऐजन कुरा मिलाएर ल्याउनू भनेको । चार बजे राष्ट्र बैंक पुग्दा हाकिमहरू ‘मिटिङ’का लागि अर्थ मन्त्रालय गएका । अर्को दिन १० बजे राष्ट्र बैंक पुग्दा मन्त्रालयबाट मिलाएर ल्याउनू भनेको । मन्त्रालय पुग्दा मन्त्रीको निवासमा निजी सचिवसँग भेट्न भरे राति १० बजे आउनू भनेको । यो चक्र काट्दै गर्दा विदेश उड्ने दिन आइपुगेको । र, लगानीकर्ता एनआरएन मित्रहरूलाई मिलाउँदै छौँ, नआत्तिनुस् भनेर सम्झाउँदै गरेको… । 

अर्थात्, विश्वमा आर्थिक विकासका लागि चालिएका कदममा लय मिलाइरहँदा जीवालाई भने नेपालले यत्ति पनि किन गर्न नसकेको होला ? वा मेरो देशमा पनि यस्तै सुधार कहिले महसुस गर्न पाइएला ? जस्ता प्रश्नले उनको दिमाग खल्बल्याइरहेको देखिन्छ । 

‘देश देशावर’ पढेपछि म ढुक्कसाथ भन्न सक्छु– जीवाको मन नेपालको अविकासका कारण उद्वेलित छ । नेपालको विकासको खाका दिमागमा कोरेर बसेका छन्, उनी । नेपाललाई विश्वका विकसित मुलुकको हैसियतमा पुगेको देख्न चाहन्छन्, उनी । यसका लागि योगदान गर्नसमेत तयार छन् । 

घुम्न निस्किएको एउटा यात्री त्यहाँ उपलब्ध वैभवमा रमाउँछ । मनोरञ्जन लिन्छ । स्वादमा हराउँछ । सबै कुरा बिर्सिएर आनन्द लिन्छ । छुट्टीको समय सकिएपछि आफ्नो काममा फर्किन्छ । तर, जीवा जहाँ पुग्छन्, नेपालको विकास किन गर्न सकिएन भनेर छटपटाइरहन्छन् ? के उनी नेपालको विकास कसरी गर्न सकिन्छ भनेर अनुसन्धान गर्न सरकारले खटाएका अध्येता हुन् र ? जब आफ्नो मातृभूमिप्रति असीम माया हुन्छ– एउटा नेपालीले गर्ने यही नै हो ।

त्यसैले, त मैले भनेको हुँ– उनले पुस्तकलाई जेसुकै संज्ञा दिऊन्, मेरा लागि नेपालको विकासको ढोका खोल्न सक्ने गहन दस्तावेज हो यो । नेपालजस्तै गरिब र द्वन्द्वग्रस्त देशले विकासमा कसरी फड्को मारे भनेर बुझ्न र उनीहरूका अनुभवलाई नेपालको सन्दर्भमा उपयोग गरेर नेपालको विकासयात्रा तय गर्न पुस्तक मार्गदर्शक बन्न सक्छ ।

लेखकका मन–मस्तिष्क र आँखा जहाँ पुगे पनि विकासमै पुगेका छन् । र, त्यो विकासको अनुभव गर्दा उनले आफ्नो देश नेपाललाई केन्द्रमा राखेका छन् । अर्को अफ्रिकी मुलुक हैटीको ‘लावादी’ टापुमा घुमिरहँदा पनि उनले नेपालकै विकासलाई सम्झिरहेका छन् । 

‘रोयल क्यारेबियन क्रुज’ नामक बहुराष्ट्रिय कम्पनीले हैटीको ‘लावादी’ क्षेत्रलाई सन् १९८६ देखि ठेक्कामा लिएको रहेछ । विभिन्न व्यावसायिक काम गरेर कम्पनीले नाफा लिन सक्ने गरी ठेक्काको सहमति गरिएको रहेछ । कुनै एक निजी कम्पनीलाई देशको कुनै क्षेत्र ठेक्कामा दिनु नेपालका लागि पेचिलो विषय बन्ला । तर, एकजना पर्यटक त्यस क्षेत्रमा प्रवेश गरेबापत प्रतिदिन १२ अमेरिकी डलर पाउने सर्तमा गरिएको उक्त सम्झौताबाट हैटी सरकारले वार्षिक करोडौँ डलर रोयल्टी पाउने रहेछ । आफ्नो देशको स्वार्थ हेरेर मुठी बलियो पारेर देशको कुनै भूमाग विदेशी कम्पनीलाई भाडामा दिँदा के बेफाइदा होला र ? मनमनै सोचेँ, विकासको लावादी मोडल हामीकहाँ पनि काम लाग्दो हो कि ? हामी चढेको जहाजले एक दिन मात्रै त्यो टापुमा विश्राम गरेबापत हैटी सरकारलाई ८४ हजार डलर बुझाएको थाहा पाउँदा म अचम्ममा परेँ ।’

क्रोएसियामा पुग्दा लेखकले देशका लागि जिम्मेवार शासकको कति खाँचो हुन्छ भन्ने सम्झिँदै त्यहाँका राष्ट्रपति कोलिन्दाको संक्षिप्त व्याख्या गरेका छन् । मलाई ती हरफ पढिरहँदा जीवाले नेपालमा किन कोलिन्दाजस्तै आफ्ना जनतालाई अपार माया गर्ने, जिम्मेवार र असल शासक पाउन सकिएन भनेजस्तै लाग्यो । 

प्रसंग, सन् २०१८ को विश्वकप फुटबलको हो । उक्त विश्वकपमा आफ्नो देश उपविजेता भएको खुसीमा बौद्धिक, सुन्दरी र धेरै भाषाकी ज्ञाता मानिने राष्ट्रपति कोलिन्दाले मैदानमै उत्रिएर कप्तान मोडरिचलाई अंकमाल गर्दै चुम्बन गरेकी थिइन्, जुन तस्बिर विश्वभर भाइरल भयो । कोलिन्दाको अभिभावकीय शैलीको प्रशंसा गरिएका तस्बिर सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताले पनि सेयर गरे । यस घटनापछि राष्ट्रपति कोलिन्दाको छवि नै बदलिएको विश्वास गरिन्छ । 

जीवाले क्रोएसियामा गौतम बुद्धलाई सम्झिन्छन् । बुद्धलाई भारतमा जन्मेको भन्दा हामीले चित्त दुखाएझैँ क्रोएसियामा जन्मिएका प्रख्यात वैज्ञानिक निकोला टेस्लालाई सर्बियनहरूले आफ्नो देशको वैज्ञानिकका रूपमा प्रचार गर्दा क्रोएसियनहरूको चित्त दुख्दोरहेछ । क्रोएसियाकै प्लिटभिच लेक राष्ट्रिय निकुञ्जभित्र घुमिरहँदा जीवालाई पोखराको फेवातालको याद आउँछ । निकुञ्जमा तालहरूको वरिपरि घुम्न व्यवस्थित रूपमा ट्रेल बनाइएका छन् । ‘सुरम्य ताल नियाल्दै सुबिस्तापूर्ण पदयात्रामा हिँडिरहेका वेला मलाई पोखराको फेवाताल वरिपरि पनि यस्तै ट्रेल बनाउन पाए कति काइदा हुन्थ्यो भन्ने सोच आइरह्यो,’ जीवा सम्झिन्छन् ।

सन् २०१८ डिसेम्बरमा जीवा सपरिवार आइसल्यान्डको भ्रमणमा निस्किन्छन् । विश्वका पर्यटकको रोजाइको मुलुक हो यो । साढे तीन लाख जनसंख्या भएको यो देशमा त्यहाँको कुल जनसंख्याको तुलनामा कैयौँ गुणा पर्यटकले आफ्नो गन्तव्य बनाउँछन् । यो देशलाई ‘ल्यान्ड अफ आइस एन्ड फायर’ अर्थात् हिउँले देश ढाकिरहँदा ज्वालामुखीबाट निस्किने आगोका लप्काले सेतो हिउँलाई सुनौलो बनाइदिन्छन् । नेपालको पर्यटन विकासका लागि आइसल्यान्डबाट धेरै कुरा सिक्न सकिने देखाएका छन्, उनले । जीवाले होटेल चेक इन गरिरहँदा उनलाई काउन्टरमा सिमसहितको मोबाइल सेट दिइन्छ । आइसल्यान्ड आउने सबै पर्यटकलाई घुम्न सजिलो होस् भनेर निःशुल्क मोबाइल दिने गरिएको रहेछ । जीवा भने आफूले पाएको मोबाइलमा रमाउनुको साटो नेपालको पर्यटन विकासका लागि यो तरिका अवलम्बन गर्न सकिए कति राम्रो हुँदो हो भनेर सोचमग्न हुन्छन् । 

पर्यटन विकासका लागि जीवाले निष्कर्ष निकालेका छन्– पर्यटकहरू नयाँ र नौलो चीज हेर्नुबाहेक पर्यटकीय सेवा पाउन पनि आतुर हुन्छन् । सायद आइसल्यान्डले यो कुरा राम्ररी बुझेको छ । यत्ति कुरा नेपालको पर्यटन उद्योगले पनि बुझ्न सक्यो भने नेपालको भूगोल सानो छ । त्यसैले, पर्यटकको साइज पनि सानै हुनु स्वाभाविक हो भनेर आत्मशान्ति लिने प्रवृत्ति अन्त्य हुन्थ्यो कि ?

जीवा एनआरएन अभियन्ता हुन् । विश्वभर रहेका नेपालीलाई एनआरएनमा गोलबद्ध गर्न र त्यो शक्तिलाई नेपालको विकासमा सहभागी बनाउन उनी क्रियाशील छन् । फिलिपिन्समा त्यहाँका सफल नेपाली व्यवसायी मात्रै होइन, दुःख गरेर विद्यार्थी जीवन बाँचिरहेका भाइहरूले समेत आफ्नो ससानो बचत नेपालको कुनै क्षेत्रमा लगानी गर्ने इच्छा राखेको देख्दा ‘यो मन त नेपाली हो’ भन्ने भावनाले आफू प्रफुल्लित भएको अनुभूति पुस्तकमार्फत बाँडेका छन् ।

अमेरिकाको लस भेगासको भ्रमणमा लेखकले त्यहाँका रोमाञ्चक रातहरूको सजीव वर्णन गरेका छन् । ‘कतिसम्म सुनियो भने, यी रुपसीहरूकै लागि कतिपय ‘दिलवाले’हरू लाखौँ डलरको खोलो बगाउछन् रे ।’ एउटा उराठ र हेलाँ गरिएको सहरले आज कसरी विश्वभरका मानिसको आम्दानी आफ्नो खल्तीमा हाल्न सफल भएको छ भन्ने कथालाई उनले शब्दमा राम्रैसँग उनेका छन् ।

जीवाले अमेरिकाकै एउटा महत्वपूर्ण परियोजना हुभर बाँधमा पनि पाठकलाई परिक्रमा गराउँछन् । हुभर बाँध बनाउने विषयमा अमेरिकामा राष्ट्रिय बहस भएको थियो । प्रभावित सबै राज्यको हितमा यसलाई प्रयोग गर्ने सहमतिपछि यो बाँध बन्न थाल्यो, निर्माण अवधि सात वर्ष तोकिए पनि चार वर्षमै सकियो । बहुउद्देश्यीय यो बाँधबाट दुई हजार मेगावाट विद्युत् उत्पादन हुन्छ । 

जीवाले साइप्रसको विभाजित सहरको कथा पनि लेखेका छन्, राजनीतिमाथि निर्मम प्रहार गर्दै । भन्छन्, ‘पन्छीहरू आफूले चाहेको ठाउँमा उड्न स्वतन्त्र छन् । जनावरलाई विचरण गर्न कुनै देशको दशगजाले छेकबार लगाउन सक्दैन । बुद्धिजीवी मानिएका मानव जातिले सिमानाकै लागि युद्ध र मारकाट गरेको कुरा बुझे जनावरलाई कति उदेक लाग्दो हो !’ साइप्रसको राजधानी निकोसिया सहरको मध्यभागबाट सिमाना काटेर सहरको आधा भाग टर्की अधीनस्थ छ ।

श्रीलंका, क्यानडा र चीनको भूमिमा उभिएर जीवाले हिंसाको विपक्ष र मानवताको पक्षमा आफूलाई उभ्याएका छन् । उनी श्रीलंका भ्रमणमा जाँदा सरकार र तमिल विद्रोहीबीच युद्ध सुरु भएको २५ वर्ष पुग्दै थियो । उनले हात्ती अनाथालयमा भेटेको एउटा तीनखुट्टे हात्तीको मर्मस्पर्शी कथामार्फत श्रीलंकाको युद्धले मानिसलाई मात्र होइन, पशुपन्छी र प्रकृतिमाथि गरेको अन्यायलाई राम्रैगरी उजागार गरेका छन् । 

क्यानडामा आफ्ना सन्तानलाई टेरी फक्सको सालिकमुनि उभ्याएर उनले मानवताका लागि गरेको समर्पणको कथा सुनाएका छन् । किशोर टेरी फक्स खुट्टाको क्यान्सरबाट पीडित थिए । उपचारका क्रममा उनको दाहिने खुट्टा घुँडामुनिबाट काटिएको थियो । उनी कृत्रिम खुट्टाको सहारामा थिए । पछि उनको शरीरमा क्यान्सर फैलिएको थाहा भयो । यो अवस्थाका टेरीले क्यान्सरबारे जनचेतना फैलाउने र क्यान्सर अनुसन्धानका लागि फन्ड जम्मा गर्ने निर्णय लिए । त्यसका लागि उनले कृत्रिम खुट्टाको सहारामा दौडिएर क्यानडा छिचोल्ने योजना बनाए । उनी एक सय ४३ दिन निरन्तर दौडिएर पाँच हजार तीन सय ७३ किलोमिटर पार गरे । मानवताका लागि दौडिँदा–दौडिँदै गलेको उनको शरीर फेरि उठ्न मानेन । सन् १९८१ मा २३ वर्षको उमेरमा उनले महानिर्वाण प्राप्त गरे । 

चीनको तिआनमेन चोकमा उभिएर स्वतन्त्रताको माग राख्ने स्वतन्त्रताप्रेमीहरूलाई त्यहाँको सरकारले गरेको नरसंहारको विपक्षमा आफूलाई उभ्याउँछन्, जीवा । सन् १९८९ मा चीनमा राजनीतिक स्वतन्त्रताको माग राख्ने हजारौँ चिनियाँ नागरिकमाथि बुल्डोजर लगाएर उनीहरूको आमसंहार गरिएको इतिहास छ । त्यो हृदयविदारक घटनाबाट संसार नै स्तब्ध भए पनि चीन भने राजनीतिक मागलाई निर्ममताका साथ दबाउन सफल भयो । अनि तिआनमेन चोकको शान्तिपूर्ण आन्दोलन नै चिनियाँ इतिहासको एक धुमिल अध्यायको अन्तिम आन्दोलन हुन पुग्यो । 

जीवाले पुस्तकमा बियरसम्बन्धी दुई कथा सुनाएका छन् । तर, तिनमा पनि उनले नेपाललाई जोड्न बिर्सिएका छैनन् । स्विट्जरल्यान्डको जुरिच उड्नुअघि नै जीवा त्यहाँ पुगेर ‘वीरेन्द्र बियर’ पिउने योजनामा थिए । स्विट्जरल्यान्डका एक व्यवसायीले नेपाली राजा वीरेन्द्रका नाममा बियर उत्पादन गरेर ‘दिस बियर इज किङ’ भन्दै ब्रान्डिङ गरेका थिए । जीवा लेख्छन्, ‘पर्चा हेर्दा यस्तो लाग्थ्यो, मानौँ मलाई नै हेरेर मुस्कुराउँदै राजा भनिरहेका छन्– एक–दुई बोतल बियर खाएर केही हुँदैन, जीवा ।’

तर उनले सहरका रेस्टुराँहरूमा त्यो बियर पाउन सकेनन् । उनी बियर खोज्दै फ्याक्ट्रीमै पुगे । र, बियरका साहुजी आद्रियान बेबरबाट एक कार्टुन बियर उपहार पाए । जर्मनीमा फर्किएर त्यो बियरको पोको खोल्नुअघि उनले बेबरसँग आफ्ना स्वर्गीय राजाको नाममा उत्पादित बियरबारे विस्तृत कुरा गरे । र, बियर पिएर स्वाद लिए । बियरमा नेपाली टिमुरको गज्जब स्वाद राखिएकोमा उनले बेबरलाई धन्यवादसमेत दिए ।

अर्को कथामा जीवाले म्युनिखमा हुने बियर महोत्सवको वर्णन गर्छन्, जहाँ महोत्सवमा सहभागी हुन लाखौँ मानिस बर्सेनि महिनौँअघि आफ्नो टेबल बुक गर्छन् । महोत्सवमा आफू सहभागी भएर बियरको चुस्की लिएपछि जीवाले नेपाली गाउँघरको रोदीघर सम्झिन्छन्, जहाँ महिनौसम्म आफैँले उत्पादन गरेको रक्सी पिउँदै नाचगान हुन्थ्यो । रोदीघरबाटै धेरै युवायुवतीको घरजम हुन्थ्यो । रोदीघर नेपालीको संस्कृति थियो । तर, यसलाई जोगाउन नसकिएको मात्र होइन, त्यसलाई म्युनिखको बियर महोत्सवजस्तै बनाउन नसकिएकोमा जीवा चुकचुकाउँछन् ।

अब उनी पुग्छन्– जर्मनीमा कुँदिएको नेपाल–हिमालय मण्डपमा । फ्य्रांकफर्टबाट तीन सय ५० किलोमिटर दूरीमा रहेको रेगेन्सबर्ग सहरको भिसेन्ट गाउँमा रहेको एक सय ८० रोपनी क्षेत्रफलमा नेपालका सहृदयी मित्र नेपालप्रेमी हेरिबोर्टले नेपाल मण्डप स्थापना गरेका छन् । 

जीवा भन्छन्, ‘निजी जंगलभित्रको नेपाल–हिमालय मण्डप घुम्दा नेपाल घुमेको अनुभूति त हुन्छ नै, निजी धन र मूल्यवान् समय खर्चेर एकजना विदेशीले नेपालप्रति दर्साएको प्रेम देखेर आफैँसँग प्रश्न गर्न मन लाग्छ । यो जंगलभित्र नेपाल चिनाउने के छैनन् ?’

उनले हेरिबोर्टलाई पनि प्रश्न गर्छन्, ‘आखिर नेपालका लागि समर्पित भावमा यति धेरै काम गर्न तपाईंलाई के चिजले प्रेरणा दिन्छ ?’ हेरिबोर्ट भन्छन्, ‘अभाव र गरिबीमा बाँचे पनि नेपाली बालबालिकामा देखिने अवोध खुसी र निश्छलपनले ।’ हेरिबोर्टलाई तीन करोड नेपालीका तर्फबाट हार्दिक अभिनन्दन ! नेपाली साहित्यलाई यति सुन्दर कृति दिएकोमा लेखक जीवा लामिछाने र प्रकाशक फाइनप्रिन्टलाई पनि बधाई अनि शुभकामना ! 

This Post Has 0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top