skip to Main Content
जानकारी र अनुभूतिजन्य ‘देश देशावर’

जानकारी र अनुभूतिजन्य ‘देश देशावर’

कुनै पनि भू–भागमा सशरीर पुगेर आफ्नै आँखाले देख्नु र हृदयले आत्मसात् गर्नुको आनन्द अर्कै हुन्छ। त्यही आनन्दलाई नियात्राकार जीवा लामिछानेले उतारेका छन्, ‘देश देशावर’मा। ‘सरसर्ती संसार’पछिको यस नियात्रा कृतिमा विभिन्न देशका २० वटा अनुभव र अनुभूतिजन्य नियात्रा छन्।

नियात्राकार जीवा लामिछाने यात्रापूर्व त्यस स्थानकोे बारेमा जानकारी लिने भएकाले उनी यात्रालाई कुतूहल बनाएर अनुभूति भर्न बढी सचेत हुन्छन्।  

जातीय द्वन्द्वले चिनिएको देश हो, रुवान्डा। त्यहाँ सय दिनमा १० लाख मानिसको हत्या भएको थियो। सात लाख अपांग भएका र २० लाख विदेशमा शरणार्थी बनेका थिए। तर अहिले गरिएको विकास विश्वकै लागि नमुना बनेको छ। त्यहाँ द्वन्द्व भड्काउनेले सजाय पाएका छन्। संसद्मा ६४ प्रतिशत महिला सहभागिताले कीर्तिमान कायम गरेको छ। राजनीति गर्नेहरू सत्तामा पुगेपछि प्रतिबद्ध हुने हो भने विकास गर्न असम्भव हुँदैन भन्ने पढ्न पाउँदा पनि आनन्द लाग्छ।  

अर्को अफ्रिकी राष्ट्र मोजाम्बिकमा भने प्रवेश गर्नासाथ भएको ठगीले नरमाइलो लाग्छ। विमानस्थलमा आपूmले भरेको अध्यागमनको फारम च्यातेर त्यहीँकाले भरेर १० डलर मागेका छन्, नियात्राकारसँग। बन्दुककै कारण देश स्वतन्त्र भएको मानेर राष्ट्रिय झन्डामा एके–४७ को बन्दुक राखिएको रहेछ। मानव जातिको उत्पत्ति भएको देश भनेर दाबी गर्ने तान्जानियामा जनावरको घनत्व विश्वकै एक नम्बरमा पर्ने रहेछ। त्यहाँकोे ४० प्रतिशत भूभाग नै राष्ट्रिय निकुञ्जले ढाकेको तथ्य पुस्तकले गराउँछ।  

युगान्डा भन्नासाथ त्यहाँका पूर्वशासक दादा इदीअमिन सम्झना हुन्छ। दादाको कहालीलाग्दो शासनमा उनले आफ्ना पाँच लाख विरोधीलाई मार्न लगाएका थिए। व्यक्ति हत्या उनको सनकमा भर पथ्र्यो। उनको गोप्य कोठाको फ्रिजमा मानिसको मासु र सिँगो टाउको नै राखिएको पढ्दा उनीप्रतिको घृणा झन् बढ्छ। अफ्रिकाको मुख्य नदी नाइलको उद्गम भिक्टोरिया ताल पनि युगान्डामै भएको जानकारी पनि पुस्तकमा रहेको छ। 

आइसल्यान्डकोे यात्राको एक दिनअघि उनी अस्पताल भर्ना भएका थिए। तर पनि परिवारलाई पठाएर आपूmपछि गएबाट पनि उनी यात्राप्रिय हुन् भन्ने प्रस्ट पारेको छ। सेना र लामखुट्टेविहीन आइसल्यान्डमा नागरिकको परम्परागत थर नहुने, जुन महिनामा दुई तीन घण्टा मात्र रात पर्नेजस्ता नवीन तथ्यले नियात्रा रोचक बनेको छ। विश्वकै सबैभन्दा ठूलो यात्रुवाहक जहाजमा चढेर रहस्यमय मानिएको बर्मुडा ट्रयाङ्गलमा गरिएको यात्रा कुतूहल र अनभूतिजन्य छ। फिनल्यान्डको यात्रामार्फत पनि नियात्राकारले नयाँ जानकारी बाँडेका छन्। विश्वमा सबैभन्दा बढी दूध पिउने, प्रत्येक व्यक्ति बराबर साउनाबाथ हुने, श्रीमती बोकेर दौड प्रतियोगिता हुने रमाइलो जानकारीले पुस्तक पढ्न आकर्षित गरेको छ।  

मरुभूमिको सहर लसभेगासले गरेको विकास आश्चर्यलाग्दो छ। त्यस सहर मनोरञ्जनको अन्तर्राष्ट्रिय राजधानी कसरी बन्न सम्भव भयो भन्ने तथ्यलाई नियात्राकारले विस्तृत रूपमा प्रस्तुत गरेका छन्। शासककोे महŒवाकांक्षाले साइप्रसको निकोसिया सहरलार्ई बीचमा चिरेर दुई देश बनाइएको सत्य दुःखद छ। श्रीलंकामा भएको गृह युद्धले मानिसको जनजीवन मात्र अस्तव्यस्त नभएर जनावरले भोग्नुपरेको पीडालाई पनि जीवाले प्रस्तुत गरेका छन्। हात्ती अनाथालयमा भएको तीनखुट्टे हात्तीको स्थितिलाई मार्मिक रूपमा चित्रण गरिएको छ।

ठूलो भू–भाग र थोरै जनसंख्या भएको देश क्यानडा अनेकतामा एकताको देश बनेको छ। विश्वको पिउने पानीमध्ये २० प्रतिशत यही देशमा भएको र सबैभन्दा ठूलो समुद्री तट भएको पनि यही देश भएको नियात्रा पढेपछि थाहा हुन्छ। चीनको ग्रेटवाल विश्वको सातौँ आश्चर्यमध्ये एक हो। त्यो निर्माण गर्दा जनताले भोग्नुपरेको पीडालाई पनि स्मरण गरिएको छ। त्यहाँको चौडा सिँढीको बाटो, हरेक पाँच मिनेटमा आराम गर्ने ठाउँमा भएको दृश्यावलोकन गर्ने टावर, त्यहाँ हुने मानिसको भीड र उनीहरूका मनमा हुने खुलदुली सबैलाई समेटेका छन्।

पूर्वी जर्मनीको वाइमर सहरमा हिटलरले बनाएको बन्दीगृह छ। बन्दीगृह भनिए पनि यातनागृह भएको र त्यहाँबाट निस्किएको त्यतिबेलाको चित्कारलाई नियात्राकारले महसुस गरेका छन्। दोस्रो विश्वयुद्ध जितेपछि अमेरिकी सैनिकले त्यहाँका बन्दीलाई मुक्त गरिदिएका थिए। त्यही स्थान रुसको अधिनमा पुग्यो। जर्मनी विभाजित भएपछि सोभियतले पूर्वी जर्मनीलाई सुम्पिएको थियो। एकीकरण गराउने रुसी र अमेरिकी राष्ट्रपति मिखाइल गोर्वाचोभ र रोनाल्ड रेगनको भूमिका र रेगनले जर्मनीमा भाषण गर्दाको एक चर्चित वाक्य ‘मिस्टर गोर्वाचोभ, टियर डाउन दिस वाल’ नै नियात्राको शीर्षक बनेको छ। रुसका यास्नाया पोल्यानामा रहेको लियो टाल्सटायको संग्रहालयलाई नियात्राकारले साहित्यको तीर्थस्थल भनेका छन्।  

जर्मनीमा पूर्वराजा वीरेन्द्रको नामको बियरमा वीरेन्द्रको फोटो समेत भएकाले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो। बियरमा पूर्वराजाको नाम र फोटोको विषयमा बुझ्न नियात्राकार कारखानामा नै पुगेर आफ्नो जिज्ञासा मेटाएका छन्। जर्मनीमै नेपालपे्रमी हेरिवर्टले बनाएको सानो नेपाल भएको पढ्न पाउँदा मात्र पनि रमाइलो लाग्छ। एक सय ८० रोपनीमा बनाएकोे नेपाललाई चिनाउन त्यहाँ परम्परागत घर, कला, ढुंगेधाराले भरिएका छन्।  

विभिन्न देशका भूगोल, इतिहास, संस्कृति, परम्परा, राजनीति र त्यस ठाउँका विकास र बेथिति पस्कनु ‘देशदेशावर’को विशेषता बनेको छ। त्यस्तै, विदेशमा नेपालीले गरेका संघर्ष र सफलताका कथाले नियात्रा सकारात्मक सन्देश प्रवाह गर्ने वाहक पनि भएको छ।

This Post Has 0 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top